संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढेको छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढेरहेको र संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड पनि सुमधुर ढंगले भइरहेको बताएका छन् ।

बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडि) का स्थायी सचिव म्याथ्यु जोन राइक्रफ्टसँग अर्थ मन्त्रालयमा बुधबार भएको शिष्ट्राचार भेटमा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहमा खासगरी न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको जोड रहेको बताए ।

उनले क्षमता विकासको सन्दर्भमा प्रदेश तथा स्थानीय तह नयाँ सन्दर्भ र सिकाईकै चरणमा भएकाले सुशासन र न्यायिक पद्धति सम्बन्धमा थप क्षमता विकास गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक पद्धतिमा रुपान्तरण भएकोले साधन स्रोतको हिस्सेदार, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरण भएको जानकारी दिए। मुलुक संघीय संरचनामा गएपछिको सकारात्मक परिणामका रुपमा राज्यका साधन स्रोतको प्रदेश र स्थानीय तहमा समान वितरण र आर्थिक बृद्धि पनि समान प्रकारले भएको मन्त्री खतिवडाले भनाई थियो ।

संघीय संरचना बमोजिम प्राकृतिक स्रोत र साधनको यथोचित बाँडफाँड गरी तीनै तहमा कार्यक्रम खर्च र लेखा प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरिएको उनले जानकारी दिए । उनले संघीय संरचनामा नेपालको नयाँ अनुभव भएकाले संघात्मक व्यवस्थालाई कार्यान्वयन गर्न छोटो समयमै वित्तीय संघीयता, कानूनी र नीतिगत आधारहरु निर्माण गरिसकिएको स्पष्ट पारे ।

त्यसैगरी भेटमा डिएफआईडिका स्थायी सचिव राइक्रफ्टले नेपाल एकात्मक शासन प्रणालीबाट संघीय प्रणालीमा जानु महत्वपूर्ण राजनीतिक परिवर्तन विश्वका लागि उदाहरणीय भएको बताए । उनले नेपाल सरकारले संविधान निर्माणसँगै संघीय संरचानमा सबै तहको निर्वाचन गरी विवाद रहित रुपमा संघीयताको अभ्यास हुनु आफैमा सुखद भएको भन्दै विश्वले संघीयता कार्यान्वयनका लागि यहाँबाट सिक्नु पर्ने धारणा राखेका थिए ।

नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको भन्दै संघीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयनका चरणमा देखा पर्नसक्ने समस्याहरुलाई बेलायत सरकार सघाउन तयार रहेको बताए ।

नेपाल र बेलायत सरकारबीच दोहोरो कर मुक्ति सम्झौता गर्ने प्रक्रियालाई समेत अगाडि बढाउने उनले बताए ।

डिएफआईडिका स्थायी सचिव राइक्रफ्टले नेपालको विकासमा बेलायत सरकारसँगै रहेको भन्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध २ सय वर्षभन्दा बढि भएको बताउँदै नेपाललाई हरेक समय बेलायत सहयोग गर्न चाहेको भन्दै भेटमा दुवै पक्षले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न तयार भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles