चितवन। रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो।
यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।
लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। पत्रकार पुडासैनीको गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।